images
Logo

नेकपामा अर्काे गम्भीर शर्त : यी २ मुख्यमन्त्री र सूर्य थापालाई नहटाए ओलीको राजीनामा !


  • सोमवार, बैशाख २२ गते २०७७


काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर ओलीको राजीनामाको एजेन्डा टरेको चर्चाबीच फेरि राजनीतिक उथलपुथल आएको छ । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले गोप्य भेला गर्दै प्रधानमन्त्री ओलीसामु गम्भीर शर्त राखेका छन् । शर्त कार्यान्वयन नभए ओलीको राजीनामाको माग चर्काउने सहमति भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ निवास हात्तीवनमा भएको प्रचण्ड–नेपाल समूहको भेलाको सहमति कार्यान्वयन नभए ओलीको राजीनामाको माग स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकमा चर्काइने भएको छ । प्रचण्ड र नेपाल समूहले पार्टीको महाधिवेशनसम्म सहकार्य गरेर अगाडि बढ्ने सहमति समेत गरेका छन् । हात्तीवन भेलामा प्रचण्ड, नेपाल, झलनाथ खनाल र श्रेष्ठ सहभागी थिए । चारै जना नेकपा सचिवालय सदस्य हुन् । भेलामा पार्टीमा ‘एक व्यक्ति एक पद’लाई कार्यान्वयन गर्न दबाब सिर्जना गर्ने, शनिबारको बैठकको सहमतिको विश्वासनीयता कायम गर्न प्रधानमन्त्री ओलीले सचिवालयमा रहेका व्यक्तिहरु (विष्णु रिमाल, सूर्य थापा लगायत) लाई हटाउने र चारै नेताले सिफारिस गरेका १/१ व्यक्ति प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गर्न आग्रह गर्ने सहमति समेत गरेका छन् । भेलाको सहमति अनुसार अध्यक्ष प्रचण्डले १ र ३ नम्बर प्रदेशका मुख्यमन्त्री हटाउनुपर्ने भएको छ । दुवै प्रदेशका बहालवाला मुख्यमन्त्रीलाई हटाएपछि १ नम्बर प्रदेशमा भीम आचार्य र ३ नम्बर प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब दिने सहमति समेत भएको छ । ४ नम्बर प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई रहिरहन दिने तर उनीहरूलाई सम्बन्धित प्रदेशको पार्टी इन्चार्जबाट हटाउन दबाब दिने सहमति समेत भएको छ । ओली नेतृत्वको अहिलेको मन्त्रिपरिषद्का सदस्य फेर्न लगाउने र प्रचण्ड–श्रेष्ठ, नेपाल–खनाल तथा ओलीको भागमा एक–एकतिहाइ हिस्सा पर्ने गरी मन्त्रिपरिषद् पुनर्गठन गर्न दबाब दिने सहमति बनेको छ । सोमबार श्रेष्ठ निवासमा भएको भेलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुनै पनि हालतमा पूर्व सचिव प्रेमकुमार राईलाई नियुक्त गर्न नदिने सहमति समेत गरेको स्रोतको दाबी छ । आगामी दिनमा हुने राजदूत, संवैधानिक निकाय र अन्य महत्त्वपूर्ण नियुक्तिमा अध्यक्षद्वयले पहिला छलफल गर्ने, त्यसपछि सचिवालयबाट अनुमोदन गराउने र ओली, नेपाल र दाहाल पक्षको समान हैसियत हुने गरी नियुक्ति गर्न दबाब दिने सहमति बनेको छ । प्रचण्ड–नेपाल समूहको भेलाले नेकपा उपाध्यक्ष वामदेव गौतमले धोका दिएका कारण प्रधानमन्त्री ओलीको राजीनामा टरेको निष्कर्ष निकालेको छ । भेलाले आगामी दिनमा बामदेव गौतमलाई विश्वास नगर्ने निष्कर्ष समेत निकालेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Team