images
Logo

प्रचण्डको गोप्य षड्यन्त्र थाहा पाएपछि केपी ओली पार्टीबाट भागे, ‘जे मन लाग्छ त्यही गर्नुस्’



काठमाडौं – पार्टी एकीकरणका लागि सबैले आत्मालोचना गरेर अघि बढ्ने र एक व्यक्ति एक मुख्य जिम्मेवारीको पुरानो समझदारीलाई ब्युँताउने सहमतिको बुझाइमै नेताहरुबीच तालमेल नभएपछि नेकपाको विवाद फेरि लम्बिएको छ ।

नेकपा सचिवालयको गत शनिवार बसेको बैठकमा पार्टीलाई विधि र पद्धतिबाट अघि बढाउने सहमति गर्दै बिहीवारका लागि स्थायी कमिटी बैठक डाक्ने निर्णय भएको थियो । तर यी ४ दिनमा विषय समाधानतिर जानुको साटो झन् विवादोन्मुख भएको छ ।

सचिवालयको बुधवारको बैठकको सुरुमा भनाइ राखेका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अहिले कुनै एजेन्डा पनि नभएकाले स्थायी कमिटी बैठक बोलाइरहन आवश्यक नभएको बताएका थिए । जबकि बुधवार बिहानै २ अध्यक्षबीच बैठकका एजेन्डा साँझ बस्ने सचिवालय बैठकले नै तय गर्ने सहमति भएसँगै बिहीवार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने सूचना पठाइएको थियो ।
नेकपाको विधानअनुसार एक चौथाइ सदस्यले लिखित माग गरे १५ दिनभित्र बैठक बोलाउनुपर्ने प्रावधान छ । पार्टीका २० जना स्थायी कमिटी सदस्यले बैठक माग गर्दै अध्यक्षद्वयलाई पत्र पठाएको बिहीवार १५ दिन पुग्छ ।

बुधवार साँझ बैठक सुरू हुनेबित्तिकै प्रधानमन्त्री ओलीले विना कारण पार्टी एकता नगरिएको भन्दै एकता कायम राख्न सबै पक्ष सोचविचार गरेर अघि बढ्नुपर्ने बताएका थिए । उनले अहिले मुलुक कोभिड–१९ को महामारीमा रुमल्लिरहेको र सरकारको नीति तथा कार्यक्रम ल्याउने बेला भएको उल्लेख गर्दै सबैको ध्यान त्यतातिर केन्द्रित गर्नुपर्ने बताए । तर शनिवार आफैंले बोलाउने निर्णय गरेको स्थायी कमिटी बैठकको भने औचित्य नरहेको उनको भनाइ थियो ।

‘हामीले स्थायी कमिटी बैठकमा पेश गर्ने भनिएको राजनीतिक प्रतिवेदन पनि तयार भइसकेको छैन, बैठकमा के एजेन्डा लाने हो भन्ने पनि थाहा छैन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘अहिले स्थायी कमिटी बैठक बस्नुको कुनै अर्थ छैन ।’

करीब १५ मिनेट बोलिसकेपछि प्रधानमन्त्री ओली आफू थाकेको भन्दै बैठकबाट उठेका थिए । ‘उहाँ म आज अस्वस्थ छु, थाकेको छु, अहिले जान्छु, सकें भने आउँछु भनेर जानुभयो,’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘हामी बसेर छलफल गर्‍यौं, उहाँलाई धेरै बेर कुर्‍यौं तर आउनुभएन ।’

प्रधानमन्त्री नै बैठकमा नआइसकेपछि बिहीवारका लागि डाकिएको स्थायी कमिटी बैठकका एजेन्डा र बैठक नै बस्ने वा नबस्ने भन्नेबारे निर्णय २ अध्यक्षले कुरा गरेर गर्नुस् भनेर बैठकबाट आफूहरू उठेको खनालले बताए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केही व्यस्तता र केही शारीरिक कारणले बैठकबाट बाहिरिएको बताए । ‘बैठकमा सके सबै जना बस्ने हो, कहिलेकाँही सकिएन भने विभिन्न कारणले बैठकलाई जानकारी गराएर निस्कने प्रचलन छ,’ उनले भने, ‘आज प्रधानमन्त्री केही व्यस्तता र केही शारीरिक कारणले समेत जानकारी गराएर बैठकबाट निस्किनुभएको हो ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रधानमन्त्री निकट स्रोतले कान्तिपुरलाई बताएअनुसार ओली दिउँसोदेखि नै बैठकमा लामो समय नबस्ने मुडमा थिए । ‘म केहीबेर बसेर निस्किन्छु, बाँकी बैठक उहाँहरूले नै चलाउनुहोला,’ ओलीले केही निकटस्थसँग भनेका थिए । आफू अस्वस्थ र थकित भएको भन्दै बैठकको सुरुवात गरेर उठेका ओलीले त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग करीब ३० मिनेट कुराकानी गरेका थिए । त्यसपछि उनले बुद्धजयन्तीका अवसरमा देशवासीका लागि दिने शुभकामना सन्देश रेकर्ड गराए ।

प्रचण्डसँगको एक्लाएक्लैको भेटमा पनि ओलीले अहिले स्थायी कमिटी बैठक जरुरी नभएको भन्दै त्यसलाई बजेटपछि धकेल्नुपर्ने बताएका थिए । प्रचण्डले भने उठेका सबै विषयमा सामूहिक छलफल गर्नुपर्ने तल्लो कमिटीको माग रहेकाले बैठक बोलाउनैपर्ने बताएका थिए । ‘तपाईंहरू सहमतितिर जानुभएन, मेराविरुद्ध अनेक षड्यन्त्र र ग्रूपिजम गर्नुभयो,’ प्रधानमन्त्री ओलीले प्रचण्डसँग भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरूले जुन गतिविधि गर्नुभएको छ, मलाई चित्त बुझिरहेको छैन, अहिले बैठक नै नगरौं ।’

जवाफमा प्रचण्डले स्थायी कमिटी सदस्यहरुको लिखित माग सम्बोधन गर्नका लागि भएपनि बैठक बोलाउनैपर्छ भनेर अडान राखेपछि ओलीले सक्ने भए २–४ दिनपछि सार्नुस्, नत्र जे मन लाग्छ त्यही गर्नुस् भन्ने जवाफ दिएका थिए ।

बैठक बिहीवार नै बोलाउनुपर्ने वा बजेट आइसकेपछि बोलाएपनि हुने भन्नेबारेमा कुरा नमिलेपछि २ अध्यक्षको थप सल्लाहमा १–२ दिनमा स्थायी कमिटी बैठक बोलाउने सहमतिमा पुगेर उनीहरू छुट्टिए ।
प्रधानमन्त्री ओलीले शनिवार अध्यादेश ल्याइनु गलत भएको र सरकार र पार्टीको काम पनि अबदेखि समझदारीमै गर्ने भन्दै आत्मालोचना गरेपछि स्थायी कमिटी बैठकको मिति तोकिएको थियो । त्यो बेला सचिवालय बैठकअघि २ अध्यक्षबीच करीब १५ मिनेट चलेको छलफलमा पार्टी र सरकारमा जिम्मेवारी बाँडफाँड, मन्त्रिपरिषद् हेरफेर, एक व्यक्ति एक जिम्मेवारी लगायत विषयमा सहमति जुटेको थियो ।

ओलीले अब मिलेरै अघि बढ्नुपर्ने भन्दै पार्टी प्रचण्डले चलाउने र पार्टीले सरकार चलाउने गरी सहमति गर्न प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावअनुसार नै बैठकमा अब एकताबद्ध भएर अघि बढ्ने र पार्टी र सरकारको कार्यशैली कस्तो हुने भनेर गाइडलाइन तयार पार्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको थियो । तर भोलिपल्टैदेखि दाहाल र नेपालपक्षीय नेताहरूको गुटको भेला झाँगिन थालेपछि ओली सशंकित बनेका थिए । उनले पार्टीभित्र एउटा सहमति गरेर बाहिर आफू निकट नेताहरूबीच भेला गर्दै हिँडेको र आफूलाई हटाउन षड्यन्त्र गरेको भन्दै दाहाल र नेता खनालसँग भेटेरै गुनासो गरेका थिए । पार्टी र सरकार सञ्चालनको गाइडलाइन सहितको प्रतिवेदन तयारी ओली र दाहालबीच कुरा नमिलेपछि अघि बढ्न सकेको थिएन ।

सहमतिकै उपाय खोज्न ओली र प्रचण्डबीच ३ दिनसम्म २–२ घण्टाका दरले छलफल भएपनि गत शनिवारको सहमतिलाई लिपिबद्ध गरेर अघि बढ्ने या मौखिक बुझाइका रूपमा मात्रै लिने भन्नेमा कुरा नमिलेपछि प्रचण्डले प्रस्ताव तयार सकेका थिएनन् । उनको २० गते यता नै वरिष्ठ नेता माधवकुमार नेपाल र आफू निकटका स्थायी कमिटी सदस्यहरुसँग छलफल चलिरहेको थियो । ओलीले प्रचण्डको समानान्तर दौडधुप रुचाएका थिएनन्, जसका कारण नेकपाभित्र तत्कालका लागि टर्‍यो भनिएको संकट फेरि सतहमा आएको छ ।

प्रतिक्रिया दिनुहोस

Team